०४ बैशाख २०८१, मंगलबार

विराटनगरमा ‘ठूला माछा–साना माछा’ मञ्चन

संवाददाता

‘ठूला माछा–साना माछा’

विराटनगर । शिल्पी थिएटरको मुक्त रंगमञ्च अभियान अन्तर्गत शुक्रबार विराटनगरमा ‘ठूला माछा–साना माछा’ मञ्चन गरिएको छ ।
शिल्पीले विराटनगरमा ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरेर अभियानको सुरु गरेको छ । शिल्पीले प्रदेश–१ का मोरङ, सुनसरी र झापाका २१ स्थानमा सो नाटक मञ्चन गर्नेछ । विराटनगरबाट सुरु भएको नाटक रंगेली, विराटचोक, इटहरी, धरान, इनरुवा, दमक, विर्तामोड, काँकडभिट्टालगायतका स्थानमा मञ्चन गरिने नाटकका परिकल्पनाकार समेत रहेका निर्देशक घिमिरे युवराजले जानकारी दिए । राजनीतिक नेतृत्व र कर्मचारीले सर्वसाधारणलाई कसरी दुःख दिएका छन् भन्ने विषयलाई नाटकले सशक्त रुपमा उठान गरेको छ । स्थानीय तहमा विकासका नाममा भइरहेका मनपरी र आर्थिक अनियमितालाई पनि नाटकले देखाउने प्रयास गरेको छ ।
किसान, मजदुरहरुले सरकार, ठेकेदार र विचौलियाबाट कतिसम्म दुःख पाएका छन् भन्ने विषयलाई नाटकले छर्लङ पारेको छ । मञ्चन भएको नाटकलाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ हजारका नगदसहित पुरस्कृत गरिने निर्देशक घिमिरेले जानकारी दिए । उनका अनुसार ‘ठूला माछा–साना माछा’ देशभर मञ्चन गरिने र त्यसपछि प्राप्त भएका कवितालाई पुरस्कृत गरिनेछ ।
घिमिरे युवराजको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगता उराँव, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल र संजीत थुलुङ राईले अभियन गरेका थिए । वि.सं. २०६३ सालमा स्थापित शिल्पीले तीन महिने अभिनय तालिमसमेत सञ्चालन गर्दै आएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत बेला–बेला विभिन्न नाटक मञ्चन गर्दै आएको शिल्पीले गाउँमा रंगमञ्च कार्यक्रम सञ्चालन गर्ने गरेको छ । दर्शकका रुपमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित विभिन्न राजनैतिक दलका नेता, साहित्यकार, पत्रकार, बुद्धिजीवीलगायतको सहभागिता थियो ।

यहाँ कमेन्ट गर्नुहोस्