०८ बैशाख २०८१, शनिबार

नागरिकसँग नजिक हुन प्रहरी कार्यालयमै देउसी

संवाददाता

विराटनगर । शुक्रबार साँझै देखि गाउँमा देउसी र भैली खेल्नेहरुको चटारो देखिन्थ्यो । गाउँमा निक्कै चहलपहल थियो । एकातर्फ दियो बाल्ने, दीपावली गर्नेहरुलाई भ्याई नभ्याई थियो भने अर्कोतर्फ दीपावलीलाई थप मनोरन्जन दिनको लागि देउसी भैली खेल्नेहरुले उत्साह थप्दैथिए । मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर ४ मा पनि त्यस्तै मध्येका रमाईलो गर्नेहरुको एउटा समुह सक्रिय थियो । शनिवार भाईटीका भएकोले शुक्रबार साँझ बाजागाजा सहितको टोली देउसी खेल्न निस्कियो । साँझदेखि निस्किएको टोलीले देउसी खेल्दै गर्दा नजिकैको प्रहरी त्यहाँ पुग्यो । गाउँभरीका नागरिकको शालिन देउसी भैलोले प्रहरीलाई पनि लोभ्यायो । पुरानो ढाँचामा खेलिएको देउसीमा बालबालिका देखि बृद्धहरुको उल्लासमय सहभागीता थियो । एक घरबाट अर्को घरमा जाँदा उतिकै देउसे थपिल्नथे र उस्तै उत्साह देखिन्थ्यो । देउसेसँगै प्रहरी पनि पछि लाग्यो ।
नागरिकको सुरक्षामा चाडपर्ब समेत नभनी लागेको प्रहरीलाई बेलामौका यस्ता चाडबाडले मनोरन्जन दिन्छ । चौबिसैघण्टा नागरिकको सुरक्षामा लाग्नु पर्ने प्रहरीलाई चाडबाडले कमैमात्रामा छुन्छ । घर जान नपाउने, विदा नपाउने अबस्था द्धन्दको समयमा निक्कै ब्यहोरेपनि अहिले पनि सबै सुरक्षाकर्मीले बिदा पाउँदैनन् । गाउँघरमा हुने यस्ता देउसी भैलोबाट प्रहरीले आफ्नो मनोरन्जनसँगै नागरिकको सुरक्षा पनि दिईरहेको हुन्छ ।
सरकारले १० बजेपछि देउसीभैलो नखेल्न उर्दी जारी गरेको भएपनि शुक्रबार राती झण्डै १ बजेसम्म प्रगतीटोल, पशुपति टोल तथा सरस्वती टोलका नागरिकले खेलेको देउसीमा प्रहरीले नखेल भनेर त रोकेन नै सँगै हिड्यो । छुट्टीने बेलामा भोली ईलाका प्रहरी कार्यालय नेमुवामा देउसीको लागि निम्ता भन्दै बिदा भए ।
ईलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायव निरीक्षक शंकरप्रसाद खतिवडाको नेतृत्वमा रहेको टोली नागरिकसँग नजिक हुँदै थियो । नागरिकलाई प्रहरी प्रतिको विस्वास बढाउने काममा सहयोग पुगोस् भनेर खतिवडाले शनिवार साँझ ५ बजेलाई देउसी खेल्ने समय मिलाए । सबै गाउँलेलाई आफ्नै कार्यालयमा देउसीका लागि बोलाए । शनिवार भाईटिका भएकोले सबैजनाले टिका लगाएपछि प्रहरीले बोलाएको समयमा गउँभरीका सबै गएर देउसी खेल्न थाले । जब देउसीको रौनक बढ्दै गयो अनी ईलाका प्रहरी कार्यालयमा रहेका प्रहरी जवान मात्र हैन खतिवडा पनि छमछमी नाच्न पुगे ।
समुदायमा शान्ति सुरक्षा कायम गर्ने हो भने नागरिक र प्रहरी बिचको सुचना आदान प्रदान मात्र हैन नागरिकले प्रहरीलाई विस्वास गर्ने वातावरण बनाउने काम प्रहरीबाट हुनु पर्ने उनले बताए । ‘प्रहरीले नागरिकको बिस्वास जित्ने आधार भनेको नागरिकसँगको घुलमिल हो, उनले भने, त्यही घुलमिल गर्ने मौकाको रुपमा देउसी खेल्नको लागि कार्यालयमा नै निम्ता गरेका थियौँ ।’ उनले देउसी खेलिसकेपछि त्यहाँ पुगेका स्थानीय नागरिकलाई संविधान, कानुन, नियम भित्र रहेर काम गर्न सुझाए । प्रहरी र नागरिक बिचको दुरी कम गर्नको लागि यस्ता कार्यले ठुलो भुमिका खेल्ने पशुपति विकास संस्थाका केदार तिमल्सिनाले बताए । पहिलो पटक प्रहरीले यस्तो अभ्यास गरेकोमा उनले खुसी ब्यक्त गरे । प्रहरीसँग देउसी खेल्ने भनेपछि मौलिका बाजागाजा सहित एक सयको हाराहारीमा ईलाका प्रहरी कार्यालय नेमुवाको प्राङ्गणमा देउसी खेल्न पुगेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्