१३ बैशाख २०८१, बिहिबार

सरकारमा पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन् : ओली

संवाददाता

केपी शर्मा ओली, अध्यक्ष नेकपा एमाले

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन पाँचतिर फर्किएकाे भत्काउ समूह भएकाे आराेप लगाएका छन् । विराटनगरमा नेकपा एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले पाँच दल पाँचतिर फर्किएको भन्दै भत्काउने तर बनाउन नआउने समूह भएकाे आरोप लगाएका हुन् ।

अहिलेकाे सरकारको सास जान लागेकाले छाेइपासाे लाग्ने डरले एमाले चुप लागेकाे बताए । ‘अहिलेकाे सरकारमा पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन्,’ उनले भने, ‘हामीले भन्दै आएका छाैँ, हामीले चाह्याैँ भने एक हप्तामा सरकार ढाल्न सक्छौँ, सास जान लागेकाे अवस्थामा छाेईछिटाे लाग्ने डरले हामी अहिले हेरेरै बसेका छाैँ ।’

सरकारले कामै गर्न नसकेकाे आराेप लगाएका ओलीले तीन महिनासम्म काम गर्न नसकेको सरकारले कुनै काम गर्न नसक्ने बताए ।

आफ्नाे नेतृत्वको सरकारले व्यवस्था गरेकाे खाेप अहिलेकाे सरकारले लगाइरहेकाे बताउँदै अहिलेको सरकारले आफ्नाे नेतृत्वको सरकारले गरेकाे कामकाे प्रचार गरेकाे बताए । आफ्नाे नेतृत्वमा ३९६ अस्पताल देशभर शिलान्यास भएकाे र दक्षिण एसियामै भारतपछि नेपालले पहिलाेपटक खाेप दिलाउन सफल रहेकाे बताए ।

ओलीले अबकाे चुनावमा समानुपातिकमा एमालेले २५ प्रतिशत सिट बढाउने दाबी गरे । अहिलेकाे सिट संख्यामा २५ प्रतिशतले वृद्वि गर्नेगरी चुनावमा लाग्न आग्रह गरे ।

अबकाे चुनावमा एमालेकाे प्रतिस्पर्धा कांग्रेससँग हुने ओलीकाे भनाइ छ । अरू दलहरूले भने झैँ चुनावसम्म गठबन्धन नटिक्ने ओलीकाे तर्क छ ।

जनताबाट अनुमाेदित भएर स्थानीय, प्रदेश र संघीय सरकार बनाउने र जनताकाे इच्छाअनुसारको काम गरेर देखाउने उनले जिकिर गरे ।

आगामी निर्वाचनमा एमाले एक्लैले सरकार बनाउने भन्दै अध्यक्ष ओ‌लीले संविधानकाे कार्यान्वयन, समाजवादको लक्ष्य, समृद्ध नेपाल‚ सुखी नेपालीकाे यात्रा अझै जारी रहेको बताए ।

आफू नेतृत्वको सरकारले छाेटाे समयमै तीव्र गतिमा काम गरेको भन्दै ओलीले त्यसबाट दुनिया आश्चर्यचकित परेको बताए । आफ्नो सरकारको पालामा उत्पादन वृद्धिदर ७ प्रतिशतका दरले बढेकाे उनले बताए ।

अध्यक्ष ओलीले अदालतको फैसलामा सेटिङ भएकाे भन्दै फैसलामा भएकाे सेटिङका विषयमा कसलाई मन्त्री , राजदूतलगायतका पदमा नियुक्ति गर्ने भन्ने कुरा आएको र अरू धेरै आउन बाँकी रहेकाे बताएका छन् । उनले भने, ‘उहाँहरूले दुनामा माग्नुभएको थियो‚ अदालतले टपरीमा दियाे ।’

यहाँ कमेन्ट गर्नुहोस्