१६ चैत्र २०८०, शुक्रबार

एभोकाडो महोत्सव धनकुटामा सकियो

संवाददाता

विराटनगर । दुईदिने एभोकाडो महोत्सव सकिएको छ। धनकुटामा बढी उत्पादन हुने भनेर चिनिएको एभोकाडोको प्रचार प्रसारका लागि भन्दै महोत्सवको आयोजना गरिएको हो । एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पु¥याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव आयोजना भएको हो । धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिवार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो । धनकुटा नगरपालिका क्षेत्रमा एभोकाडोको व्यावसायिक खेती हुने गरेको कारण त्यसको प्रचार गर्ने हेतु २०७५ साल देखि एभोकाडो महोत्सव आयोजना हुँदै आएको छ। धनकुटा नगरक्षेत्रमा करिब ३० हजार एभोकाडोको बिरुवा किसानले रोपेका तथा १२ हजार एभोकाडोले फल दिईरहेको छन् । धनकुटामा एभोकाडो खेती गर्ने एक हजार नौ सय ६२ घरधुरी रहेको नगरपालिकाले जनाएको छ। धनकुटा नगरपालिकाले २०७५ सालमा नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकले उत्साहपूर्वक एभोकाडो खेती गरिरहेका छन् । महोत्स एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी भएका नगर क्षेत्रका एभोकाडो कृषकलाई प्रोत्साहन स्वरूप प्रविधि हस्तान्तरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवमा एभोकाडोका ३० वटा स्टल राखिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्