०७ बैशाख २०८१, शुक्रबार

ईनरुवा अस्पताल सुधारको तयारी

संवाददाता

विराटनगर । प्रदेश १ अन्तरगत रहेको जिल्ला अस्पताल ईनरुवालई ब्यवस्थित गर्ने बारेमा छलफल शुरु भएको छ । राजनीतिक आडमा कर्मचारी सरुवा हुन थालेपछि जिल्ला अस्पताल सुनसरीको अबस्था बिग्रँदै गएको थियो । अस्पतालको स्तरोन्नती नभएको भन्दै स्थानीयले मन्त्री सहितलाई ध्यानाकर्षण गराएपछि सामाजिक विकास मन्त्री जयराम यादवले एक महिना भित्रमा अस्पतालको स्तरोन्नती हुने बताएका हुन् । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लामो समय देखि रिक्त रहेको र आवस्यक चिकित्सकको पनि अभावलाई एक महिना भित्र ब्यवस्सिथत गरिने भएको हा ।
सोमबार जिल्ला अस्पताल इनरुवामा पुगेको सामाजिक विकास मन्त्री यादव सहितको टोलीलाई स्थानीयले अस्पतालको ब्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए । इनरुवा अस्पताल सुदृढीकरण सम्बन्धि गरिएको छलफलका क्रममा प्रदेशले नियुक्त गर्ने अस्पताल प्रमुखको जिम्मेवारी दिनुपर्ने, विशेषज्ञ डाक्टर तीनै तहको सरकारको समन्वयमा राखिनु पर्ने, स्वास्थ्यकर्मीको सुरक्षाका लागि राजनैतिक प्रतिबद्धता हुनुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य वीमा कार्यक्रम प्रदेश सरकार मार्फत सञ्चालन हुनुपर्ने लगायतका विषय मन्त्री यादव समक्ष प्रस्तुत गरेका थिए ।
अस्पतालका कर्मचारी तथा स्थानीय सरोकारवालालाई अस्पताल भित्र राजनीति नगर्न मन्त्री यादवले आग्रह गरेका छन् । अस्पताल अनुगमनमा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतको टोेली रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्