१८ बैशाख २०८१, मंगलबार

प्रदेश सरकारले प्रहरीलाई दियो ६ वटा मोटरसाईकल

संवाददाता

विराटनगर । प्रदेश १ सरकारले सवारी खरिद गर्दै बाँड्ने क्रम निर्वाचन आउँदै गर्दा पनि रोकिएको छैन । प्रदेश प्रहरीको आफ्नै प्रहरी नभएपनि संघीय सरकार माताहतका सुरक्षा निकायलाई सवारी किनेर उपलब्ध गराउने क्रम नयाँ आर्थिक बर्षको पहिलो चौमासिकमै शुरु भएको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्कर्टिङका मोटरसाईकल सुरक्षाकर्मीलाई उपलब्ध गराएको हो । बुधवार आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच सुरक्षाकर्मीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराधलाई न्यूनीकरणका गर्नका लागि सुरक्षाकर्मीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए । सुरक्षाकर्मीलाई श्रोत साधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै स–साना कदमबाटै अपराधन्यूनीकरण हुँदै जाने कार्कीले बताए ।
मन्त्रीकार्कीले सडक अपराधलाई प्रविधिले निगरानी बढाउने भन्दै मुख्य राजमार्गमा सरकारले सिसी क्यामेरा जडान गरिरहेको बताए । ‘मेची, कोसी तथा रानी, धरान खण्डमा सिसी क्यामेरा जडानको अभियानमा रहेको बताएका कार्कीले प्रविधिमैत्री निगरानी भएमा अपराधी उम्कन नपाउने दाबी गरे ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट खरिद भएका ६ थान मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरिएको हो । मोटरसाइकल ग्रहण गर्दै प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख सुदीप गिरीले सरकारलाई धन्यवाद दिए । ट्राफिक प्रहरीलाई यातायात व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा प्रदेश सरकारको सहयोगले राहत मिल्ने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्