१८ बैशाख २०८१, मंगलबार

विराटनगर सरसफाई : जनप्रतिनिधि र कर्मचारीहरू अभियानमा

संवाददाता

विराटनगर । कसैको हातमा झाडु, कसैको हातमा बेल्चा, कसैको हातमा हँसिया । यो दृश्य शुक्रबार बिहान विराटनगरका विभिन्न वडाको हो । माथि उल्लेखित दृश्य महानगर सरसफाई विशेष अभियानको हो । यतिबेला विराटनगर महानगर विशेष सफाई अभियान सञ्चालन भइरहेको छ ।
महानगरको कार्यपालिका बैठकले नै हरेक शुक्रबार विराटनगरमा विशेष सफाई अभियान सञ्चालन गर्ने निर्णय गरेपछि अभियान शुरु भएको हो । हरेक शुक्रबार बिहान ७ देखि ९ बजेसम्म महानगरका विभिन्न वडाको सफाई हुने गरेको छ। महानगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्रमा विभाजित गरेर सरसफाई अभियान चलाइरहेको छ । उत्तरी क्षेत्रको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत, मध्येको उपमेर र दक्षिणीको मेयरले नेतृत्व गर्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको नेतृत्वमा वडा नम्बर ५ को सफाई अभियान भएको छ। चाँदनी चोकबाट सरसफाई सुरु भएको थियो ।
सरसफाई विशेष अभियानको क्रममा त्रिमूर्ति चोक आसपासको समेत सफाई गरेको छ। सफाई अभियानमा स्थानीयसमेत सहभागी भएका छन् । सफाईमा वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, २ कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने लगायत कार्यपालिका र नगरपरिषद् सदस्य, नगर प्रहरी सहभागी थिए ।
सरसफाई अभियान एक दिन गरेर मात्र नहुँने प्रमुख प्रशासकीय अधिकृत कोईरालाले बताए । अभियानअन्तर्गत हरेक हप्ता बेग्ला–बेग्लै वडाको सरसफाई हुने गरेको छ । यस हप्ता उत्तरी क्षेत्रको ५ नम्बर वडाले आयोजना गरेको वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी गराए ।
कार्यबाहक मेयर शिल्पा निराला कार्कीको नेतृत्वमा मध्य क्षेत्रमा सफाई गरिएको छ । वडा नम्बर ६ को ब्रम्हापुर आसपासको क्षेत्रमा सरसफाई गरिएको हो । अभियानमा वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द सहनी, १० का अर्जुन गिरी, ११ का तीर्थेन्द्र न्यौपाने, महानगरको वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधान लगायत जनप्रतिनिधि, नगर प्रहरी, कर्मचारी र स्थानीयको सहभागि थिए । सरसफाई विशेष अभियानपछि विराटनगर धेरै क्षेत्रलाई सरसफाईको सामान्य अबस्थामा फर्काएने तयारीमा महानगर देखिएको उपमेयर कार्कीले बताईन् । ‘ठाउँ विशेषअनुसार प्राथमिकताको क्षेत्र फरक हुन्छ, उनले भनिन्, विराटनगरका लागि सरसफाई पनि प्राथमिकताको क्षेत्रभित्र पर्छ ।’

यहाँ कमेन्ट गर्नुहोस्