Click Biratnagar
📝 सन्ताेष पाेखरेल
वर्तमान शिक्षा प्रणालीले विद्यार्थीको बौद्धिकतालाई केवल एउटा परीक्षा हल र तीन घण्टाको पेपर-पेन्सिल टेस्टको कसीमा जोख्ने गरेको छ। तर, के एउटा कागजको पानाले मानिसको सम्पूर्ण क्षमता, संवेग र जीवन जिउने कलाको मापन गर्न सक्छ? पक्कै सक्दैन। ‘बहुक्षमता’ (Multiple Intelligences) को सिद्धान्तले भन्छ, `प्रत्येक बालबालिकामा फरक क्षमता हुन्छ।´ तर हाम्रो मूल्याङ्कन पद्धतिले भने सबैलाई एउटै सानो बाकसमा अटाउन खोज्दा वास्तविक प्रतिभाहरू ओझेलमा परिरहेका छन्।
दुई विद्यार्थी: दुई फरक संसार
हाम्रो समाजमा आज दुई प्रकृतिका विद्यार्थीहरू छन्, जसलाई हाम्रो शिक्षा प्रणालीले हेर्ने दृष्टिकोण निकै विभेदकारी छ:
• पहिलो विद्यार्थी (व्यावहारिक दक्ष): ग्रामीण भेगको एउटा विद्यार्थी, जसलाई माटोको सुगन्ध थाहा छ। उसलाई कुन मौसममा के रोप्ने, स्थानीय उत्पादनको बजार व्यवस्थापन कसरी गर्ने र पशुपन्छीको प्रजनन (Breeding) को सही समय कुन हो भन्ने व्यावहारिक ज्ञान छ। ऊ श्रमको सम्मान गर्छ र संघर्षसँग डराउँदैन। तर, दुर्भाग्य! उसलाई रुचि नभएको एउटा सैद्धान्तिक विषयमा न्यून अंक (NG) आउँदा प्रणालीले उसलाई ‘असक्षम’ घोषणा गरिदिन्छ।
• दोस्रो विद्यार्थी (किताबी दक्ष): अर्को विद्यार्थी छ, जसले ४.० GPA ल्याउँछ। तर, विडम्बना! उसलाई आफ्नै जुत्ताको तुना बाँध्न आउँदैन, खाना खाएपछि हात धुन आमाको सहारा चाहिन्छ र व्यक्तिगत सरसफाईको समेत ज्ञान छैन। उसलाई प्रणालीले ‘अब्बल’ मान्छ र समाजले उसको प्रशंसाको पुल बाँध्छ।
एकाङ्गी मूल्याङ्कन र सामाजिक भ्रम:
हाम्रो शिक्षा र मूल्याङ्कन प्रणालीले ‘मेहेनती र संघर्षशील’ नागरिक भन्दा पनि ‘अल्छी र विलासी’ जनशक्ति उत्पादन गरिरहेको छ। किताबी ज्ञानमा मात्र केन्द्रित हुँदा विद्यार्थीहरूमा जीवन जिउने कला (Life Skills) को अभाव खड्किएको छ। सामाजिक सञ्जालमा पनि केवल अंकलाई सफलताको मानक मान्ने प्रवृतिले गर्दा वास्तविक सीप भएका युवाहरू निरुत्साहित भइरहेका छन्।
नीतिगत सुधार र कार्यमूलक अनुसन्धान (Action Research) को आवश्यकता
शिक्षकले कक्षाकोठामा सिकाउँदा मात्र होइन, अब राष्ट्रिय स्तरका शैक्षिक निकायहरूले पनि आफ्नो नीतिमा ‘एक्सन रिसर्च’ गर्न ढिला भइसकेको छ। हामीले सुधारका लागि निम्न पक्षमा ध्यान दिनु जरुरी छ:
• व्यक्तिगत शिक्षण योजना (IEP): प्रत्येक विद्यार्थीको सिक्ने क्षमता र रुचि फरक हुन्छ। त्यसैले कक्षाकोठामा ‘इन्डिभिजुअल प्लान’ बनाएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरिनुपर्छ।
• बहुआयामिक मूल्याङ्कन: विद्यार्थीको मूल्यांकन केवल लिखित परीक्षाबाट मात्र होइन, उसको व्यावहारिक सीप, सामाजिक व्यवहार, र सिर्जनशीलताका आधारमा गरिनुपर्छ।
• श्रमको सम्मान: पाठ्यक्रममा श्रमको महत्व र व्यावहारिक सीपलाई अनिवार्य गरिनुपर्छ ताकि विद्यार्थीहरू स्वावलम्बी बन्न सकून्।
• मानसिकतामा परिवर्तन: “मैले भनेको मात्र ठिक, अरुको बेठिक” भन्ने जडसूत्रवादी सोचबाट माथि उठेर फरक क्षमतालाई स्वीकार्ने वातावरण बनाउनुपर्छ।
देशलाई सबै प्रकृतिका नागरिक चाहिन्छ। कोही खेतमा पसिना बगाउने किसान चाहिन्छ त कोही प्रयोगशालामा नयाँ आविष्कार गर्ने वैज्ञानिक। तर, यी दुवैको क्षमतालाई बराबर सम्मान गर्ने प्रणाली नभएसम्म देशको शिक्षा सुध्रिँदैन। अरूलाई दोष दिनु भन्दा हाम्रा नीतिगत कमजोरीहरू पहिचान गरी तत्काल सुधारको बाटोमा लाग्नु नै आजको आवश्यकता हो। जबसम्म हामी ‘सर्टिफिकेट’ भन्दा ‘सामर्थ्य’ लाई प्राथमिकता दिँदैनौँ, तबसम्म हाम्रो शिक्षाले केवल शिक्षित बेरोजगारी मात्र उत्पादन गरिरहनेछ। अन्त्यमा “एउटा माछालाई रुख चढ्ने क्षमताको आधारमा मूल्याङ्कन गरियो भने उसले आफ्नो पूरै जिन्दगी आफूलाई मूर्ख ठानेर बिताउनेछ।”
(लेखक आदर्श माध्यमिक विद्यालय विराटनगरका प्रधानाध्यापक हुन् ।)