१४ बैशाख २०८१, शुक्रबार

कोभिड संक्रमित अस्पताल जानेको संख्या घट्यो, प्रदेश १ का अस्पतालमा २२ जना मात्र

संवाददाता

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणको दर बढेपनि अस्पताल आउनेको संख्या न्युन रहेको छ। संक्रमतिको संख्या बढ्दै जाँदा अस्पताल आउनेको संख्यामा भने उल्लेख्य बृद्धि भएको देखिन्न । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म प्रदेशका बिभिन्न अस्पतालहरुमा आएर उपचार गराउनेको संख्या जम्मा २२ जना मात्र रहेका छन् । १ हजार तीन सय ९७ जना कुल संक्रमित मध्ये १ हजार ३ सय ७५ जना होम आईसोलेशनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना शुरु भएदेखि हालसम्म ६ लाख ६९ हजार ३ सय ४९ जनाको कोरोना परीक्षण गरिएकोमा १ लाख ५४ हजार १ सय ६१ जनामा कोरोना संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाको संक्रमणबाट प्रदेश १ मा २ हजार १ सय ९६ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको संक्रमण पछिल्लो समय बढ्दै गएको छ। सामाजिक विकास मन्त्री जयराम यादवका अनुसार पछिल्लो केही दिनयता कोरोनाको संक्रमण बढेको भएपनि ओमिक्रोन भाईरसको संक्रमण प्रदेश १ मा देखिएको छैन ।
संक्रमण बढ्दै जाँदा नागरिकसम्म खोप पुर्याउने अभियानलाई तिब्र पारिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आजसम्म कुल जनसंख्याको ७३ प्रतिशतले खोप लगाएको मन्त्री यादवले मकालुखबरलाई जानकारी दिए । ‘प्रदेश १ मा करिब ७० प्रतिशतले खोप लगाईसकेका छन्, उनले भने, दुबै डोज खोप लगाउनेको ५३ प्रतिशत छन्, बाँकीलाई अहिले पनि लगाउने काम जारी रहेको छ।’
प्रदेश १ मा खोपको अभाव नभएको दाबी गरेका सामाजिक विकास मन्त्री यादवले १८ बर्ष उमेर भन्दा माथिका सबैलाई पुग्ने पर्याप्त खोप रहेको बताए । ‘१२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई खोप लागाउने तयारी भईरहेको छ, उनले भने, यो उमेर समुहका बालबालिकालाई यही हप्तादेखि लगाउने छौँ । माघ महिनाको दोश्रो साता भित्र प्रदेश १ मा बुष्टर डोज खोप लगाउन थाल्नेछौँ ।’ उनले हिमाली र पहाडी जिल्लाको तुलनामा तराई र सहरमा खोप लगाउनेको संख्या न्युन रहेको बताए ।
त्रास भिडभाडको
प्रदेश १ को राजधानी पछिल्लो समय तेश्रो भेरियन्टको हटस्पटको रुपमा विकास हुँदैछ । १५० बढी संक्रमित राजधानी बिराटनगरमा नै देखिन थालेपछि अहिले कोभिडको हटस्पट बिराटनगर बनेको छ । संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ को मोरङ र सुनसरी रेडजोनमा परेको छ। यसबाट पनि संक्रमणको अबस्था उच्च दरमा बढेको देखिएकोछ । यसरी एकाएक कोरोना संक्रमणको दर बढ्नुको कारण भनेको भिडभाड नरोकिने रहेको बिज्ञहरुले बताएका छन् । मास्क अनिवार्य, हिडड्ल गर्दा साबधानी अपनाउने, भिडभाड नगर्ने, सार्बजनिक सभा समारोह नगर्ने, गर्नै परेपनि दुरी कायम गरेर २५ जना भन्दा बढी गर्न नपाउने भनिएपनि भिड ब्यवस्थापन नहुँदा कोभिड संक्रमणको दर बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले बताए । ‘हामीले संक्रमण फैलिन नदिनको लागि साबधानी अपनाउन भनेका छौँ, उनले भने, नागरिक सचेत देखिएका छैनन्, जसको कारण समुदायमा संक्रमणको दर बढ्दो छ।’ तत्काल लकडाउन गर्न सक्ने अबस्थामा सरकार देखिएको छैन । स्थानीय प्रशासन पनि सकभर नागरिकको सुरक्षाको लागि साबधानी नै महत्वपुर्ण हुने बताउँदै आएको छ। स्वास्थ्यकर्मीहरु पनि कोभिडको रोकथाम नियन्त्रणको उपयुक्त उपाय भनेको साबधानी नै हुने बताउँछन् ।
यस्तो तयारी
संक्रमण दर बढ्दै जाँदा प्रदेश सरकारले पहिला गरिएका तयारीलाई यथाबत राख्दै आईपर्ने नयाँ जोखिमलाई पनि आँकलन गरेको जनाएको छ। कोरोना जनसुरक्षा कोषमा बजेट नभएकोले प्रदेश सरकारले त्यसमा पर्याप्त रकम हालेर नागरिकको सुरक्षामा ध्यान दिने तयारी गरेको जनाएको छ। मन्त्री यादव अहिले नै आँतिनु पर्ने अबस्था नभएको बताउँछन् । यस अघिको कोभिडले गर्दा आबश्यक पर्ने उपकरणहरु अहिले तयारी अबस्थामा रहेको, अक्सिजन भेन्टिलेटरहरु तयारी रहेको, कोशी कोभिडमा २ वटा अक्सिजन प्लान्ट तयार भएकोले पहिलाको जस्तो अक्सिजनको समस्या नहुने दाबी मन्त्री यादवको छ । ‘तत्कालै आँतिनु पर्ने अबस्था छैन, उनले भने, हामीसँग भेन्टिलेटर र बेडहरु तयारी अबस्थामा राखिएको छ ।’ अबस्था भयाबह भएको अबस्थालाइृ ध्यानमा राखेर सबै जिल्ला अस्पतालहरुलाई तयारी अबस्थामा रहन भनिएको छ । प्रदेश १ मा स्वास्थ्य क्षेत्रका कर्मचारी कमी भएको कारण त्यसले समस्या हुनसक्ने आँकलन गरिएको छ। अहिले स्वास्थ्य क्षेत्रका ४७ प्रतिशत मात्र कर्मचारीको भरमा चलाउनु परेकोले समस्या भएको उनको गुनासो छ ।

यहाँ कमेन्ट गर्नुहोस्