१५ चैत्र २०८०, बिहिबार

कोशी कटानमा स्टार होटल सहितको रिफ्रेसमेन्ट सेन्टर, बजेट अभावमा प्रगती कमजोर

भौतिक प्रगती ६ दशमलव ६३ प्रतिशत, आर्थिक प्रगति ६ करोड ३३ लाख देखिएको छ।

संवाददाता

कोशी रिफ्रेसमेन्ट सेन्टर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ को कोशी कटान क्षेत्रमा अहिले एउटा भब्य परियोजना सरकारले शुरु गरेको छ। प्रदेश १ सरकारको गौरबको आयोजनाको रुपमा हेरिएको कोशी रिफ्रेसमेन्ट सेन्टरको कामले दुई बर्ष पुग्नैै लाग्दापनि गति लिन सकेको छैन । २०७७ मंसिर १४ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रिफ्रसमेन्ट सेन्टरको सिलान्यास गरेको पनि २ बर्ष पुग्न लाग्यो । त्यो भन्दा पहिला देखि नै सरकारले यो परियोजनालाई गौरबको आयोजनाको रुपमा शुरु गर्ने लक्ष्य राखेको थियो । बहुबर्षिय योजनाको रुपमा शुरु भएको कोशी रिफ्रेसमेन्ट सेन्टरको काम भौतिक प्रगती ६ दशमलव ६३ प्रतिशत देखिएको छ । आर्थिक प्रगति ६ करोड ३३ लाख देखिएको छ। ठेकेदार कम्पनीले ४ करोड ४ लाख पेश्की रकम लगेको छ भने बाँकी बिल अनुसारको भुक्तानी भएको कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना कार्यालयले जनाएको छ।
प्रदेश १ सरकारको बृहत् र महत्वकांक्षी परियोजना मानिएको रिफ्रेसमेन्ट सेन्टरलाई आधुनिक र भव्य बनाउने प्रदेश सरकारको योजना छ । २ अर्ब ५ करोड लागत लाग्ने गरि प्रदेश सरकारले दुई वर्ष अघिबाटै परियोजना अन्तर्गतका कार्य अघि बढाएको भए पनि कोरोना भाइरसका कारण शिलान्यासमा ढिला ढिला भएको थियो । दुई चरणमा निर्माणका काम अघि बढाउने गरि शुरु भएको परियोजनाको पहिलो चरणमा कम्पाउण्डवाल, माटो पुर्ने, प्रशासकीय भवन, हेल्थपोष्ट भवन, पेट्रोलपम्प निर्माण, सार्बजनिक शौचालय, प्रहरी चौकी र रेष्टुरेन्ट निर्माण गर्ने भनिएको छ।
डिपिआरमा उल्लेख भएअनुसार दोश्रोे चरणमा ७ तलाको कम्प्लेक्स बिल्डिङ निर्माण, भिआईपी रुम सहितको होटल, भ्यूटावर, दुई वटा स्वीमिङ पुल र लिफ्ट सहितको आकाशेपुलको परिकल्पना गरिएको छ । पहिलो चरणमा २७ करोड पाँच लाख १९ हजार बराबरको काम भईरहेको आयोजना कार्यालयले जनाएको छ। रिफ्रेसमेन्ट सेन्टरको निर्माणको ठेक्का पाएको कविन्द्र नव सिर्जनशील जेभी सिनामङ्गल काठमाडौँले २०७७ असार २६ गतेको सम्झौता अनुसार काम शुरु गरेकोमा २०७९ साल पुष २५ गते भित्र निर्माण पुरा गरेर पहिलो चरणको काम सरकारलाई बुझाउने उल्लेख छ ।
मुलुककै नमूना दाबी गरिएको यो आयोजना निर्माण पुरा हुँदा पूर्वलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मद्दत पु¥याउने विश्वास गरिएको सोही क्षेत्रका प्रदेश सांसद तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले बताए ।
कोशीले कटान गरेको बगरलाई सदुपयोग गरि सुबिधा सम्पन्न रिफ्रेसमेन्ट सेन्टर निर्माणको काम शुरु गरेर प्रदेश सरकारले नमुना काम थालेको दाबी कुसियैतको छ । वि.सं २०६५ भदौ २ गतेको कोशीको बाढीले बालुवामा परिणत गरेको जग्गालाई अधिग्रहण गरी रिफ्रेसमेन्ट सेन्टर निर्माण हुँदैछ ।
‘अढाई बर्ष भयो, प्रशासनिक खर्च, तलव भत्ता खाने काम मात्र भयो, परियोजना कार्यालयबाट अन्यत्रै सरुवा भएर गएका आयोजना प्रमुख सुरेशप्रसाद साहले भने, जग्गा प्राप्तीको काम पछि असारमसान्तसम्म माटो भर्ने काम भयो त्यसयता काम अघि बढेको छैन, मेरो सरुवा भएपछि म अपडेट छैन ।’
सरकारले कोशी कटानको बगर क्षेत्रको जग्गामा पनि प्रतिकठ्ठा १ लाखदेखि ४ लाखसम्म हालेको छ। जग्गा प्राप्तीका लागि ५ करोड खर्च भएको सरकारी दाबी छ । १८ बिगाहा जग्गा कोशी रिफ्रसमेन्ट सेन्टरको नाममा आएको छ भने त्यहाँ भएको ऐलानी जग्गा करिब ४ बिगाहा पनि सरकारको नाममा आएको छ । पहिलो बर्ष रिफ्रेसमेन्ट सेन्टरको लागि कुनै बजेट थिएन, प्रशासनीक खर्च भनेर कार्यालय संचालन खर्च दिईएको थियो । ५ करोड जग्गा अधिग्रहणको लागि दिईएकोमा जग्गा अधिग्रहणपछि एक बर्ष कुनै पनि काम हुन सकेन ।
आयोजना प्रमुख मिलन आचार्यका अनुसार गत बर्ष १० करोड बजेट छुट्याईएकोमा कोभिडको कारण देखाउँदै त्यो रकम पनि पठाईएन । गत आर्थिक बर्षमा कुनैपनि रकम नआएको कारण कामै हुन सकेन यो बर्षको बजेटमा १२ करोड छुट्याईएको छ। रकमको अभाव नै मुख्य समस्या रहेको छ।
निर्माणमा देखिएका समस्या
सप्तकोशी नदीसँगै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपास रहेका पूर्वका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा उक्त परियोजनाले प्रर्यटन प्रवद्र्धनमा भुमिका खेल्ने भनिएपनि काम धिमा गतीमा भएको कारण आशंकाहरु उब्जीएका छन् ।
‘संरचना निर्माणको लागि फाउण्डेशन खन्ददा पानी आउन थालेपनि समस्या भएको छ। सिमासार जस्तो जमिन भएकोले संरचनाको फाउण्डेशन खन्दा समस्या भएको, आयोेजना प्रमुख आचार्यले भने, २।३ फिट खन्दा नै पानी आउन थालेपछि त्यसको समस्या समाधान तर्फ लागिएको छ।’
डिपिआरमा फाउण्डेशन खन पानी आएमा पानी फाल्ने प्राबधान नराखिँदा अहिले प्राबिधिक समस्या देखिएको हो । त्यस्तै संरचनना निर्माण गर्दै गरेको ठाउँको बिचमा मन्दीरलाई हटाएर अन्यत्र बनाउने सहमती भएको भनेर बन मन्त्रालयमा सहमती भएको भन्ने कुरा आएको तर त्यसलाई हटाउने बारेमा पनि कुनैै निर्णय नहुँदा समस्या भएको प्रमुख आचार्यले मकालुखबरलाई बताए । ‘त्यो मन्दीर भएको ठाउँ भनेको दशैमा मेला लाग्ने गरेको ठाउँ हो, उनले भने, त्यो संबेदनशिल कुरा भएकोले हटाउन सकिएको छैन, मन्दीर राख्ने जग्गाको खोजि भईरहेकोले त्यसको ब्यवस्थापनकोे काम पनि भईरहेको छ।’ मन्दिर हटाउने बारेमा बन मन्त्रालयमा भएको सहमतीको पत्र कार्यालयलाई नपठाईँदा पनि त्यसको ब्यवस्थापनमा अलमल भएको हो ।
पुरा हुनेमा आशंका
प्रदेशकै महत्वकांक्षी र ठूलो आयोजनाको रूपमा प्राथमिकतामा राखिएको रिफ्रेसमेन्ट सेन्टर निर्माणका कामले सोचेको जस्तो गति लिन सकेको छैन । आयोजनालाई प्रदेश १ सरकारले तीन वर्षभित्र पूरा गर्ने भनेको थियो । सरकारले तेश्रो बर्षमा पनि अझै कामको गती हेर्दा धिमा देखिन्छ । बिभिन्न कारण देखाउँदै कामले गति लिन सकेको छैन । २ अर्ब ५ करोडको कुल खर्चको अनुमान गरिएकोमा पहिलो चरणको सम्झौतामा करिब २७ करोडको हाराहारीको ठेक्का सम्झौता भएको छ । ठेक्का सम्झौताको आधारमा हेर्ने हो भने पहिलो र दोश्रो चरणको गरि दुई भागमा बिभाजवन गरिएको छ । पहिलो चरणको काम पुरा हुन अझै २ बर्ष लाग्ने देखिन्न्छ । दोश्रो चरणको काम कसरी अघि बढ्छ त्यसको लेखा जोखा छैन ।

 

यहाँ कमेन्ट गर्नुहोस्