१६ चैत्र २०८०, शुक्रबार

अस्तब्यस्त बजार, अनुगमनलाई प्रभावकारी बनाउने सहमती

संवाददाता

विराटनगर । बजार अनुगमनलाई प्रभावकारी बनाउन तीन तहका सरकारमा प्रतिनिधित्व गर्ने निकाय एक भएका छन् । पछिल्लो समय बजारमा ब्यथिती बढेको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि संवाद समुह प्रदेश १ ले विराटनगरमा आयोजना गरेको संवादको क्रममा जिल्ला प्रशासन, विराटनगर महानगरपालिका, आन्तरिक राजश्व, वाणिज्य, नापतौल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय सहितका क्षेत्रगत कार्यालयहरुले संयुक्त रुपमा बजार अनुगमन गर्ने प्रतिवद्धता जनाएका हुन् । बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्तावादी सहित मोरङ ब्यापार संघ र विराट ब्यापार संघले सहयोग बताएका छन् ।
बजारको ब्यथिती रोक्नको लागि कानुनी कार्वाही मात्र समस्याको समाधान नभएकोले उपभोक्ता, ब्यापारी, सरकारी संयन्त्र सबै सचेत भएर बजारलाई ब्यवस्थित बनाएर जाने बारेमा पनि छलफल भएको छ ।
ब्यवसायीहरु भित्रैबाट बजारको अनुगमन गरि स्वःअनुशासित हुने ब्यवस्थाको परिपालना गराउन ब्यवसायी संस्थाहरुले भुमिका खेल्ने तथा ब्यवसायीले कानुनी मुल्य र मान्यताको पालना गर्ने, उपभोक्तावादीले भ्रामक सुचना नदिई तथ्यपरक सुचना दिने पनि उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
तरकारी, माछामासु लगायतका खाद्य बस्तु लक्षित अनुगमनलाई प्रभावकारी बनाई सचेतनाका कार्यक्रम संचालान गर्नु पर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले बताए । उनले भारतीय बजारमा जाने उपभोक्तालाई ठगिनबाट जोगाउन (चिनी, लत्ता कपडा, डई फुड्स लगायत सामाग्री)का लागि सरकारले ट्याक्स नीतिलाई नागरिक लक्षित बनाई परिमार्जन गरेर जानु पर्ने समेत बताएका छन् । स्थानीय सरकारले बजार अनुगमन गरेको समयमा संघीय कार्यालयका प्राबिधिक जनशक्ति उपलब्ध गराई बजार अनुगमनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने पनि भनिएको छ।
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले पालिकाको तर्फबाट बजार अनुगमनका कामहरु भईरहेपनि एकजना वा एउटा निकायको बलमा मात्र बजारको समस्या समाधान नहुने बताईन् । ‘अहिले पालिकाको तर्फबाट केही अनुगमनको प्रयास भएको छ, उनले भनिन्, बजार अनुगमन गर्ने हाम्रो आफ्नै खालको टिम छ, समन्वयमा बजारमा हुने अबैध गतिबिधिलाई रोक्ने प्रयास भईरहेको छ।’ किराना र कपडा पसलमा खरिद बिलहरु नहुने गरेको सुनाईन् । गुद्रीमा बोर्ड लगाएर बसेका ब्यापरीहरु कसैले पनिब्यवसाय दर्तामा नगराएकोले त्यस्तो अबस्थामा कसरी दर्ता प्रक्रियामा लग्ने भन्ने बारेमा छलफल भईरहेको उनले बताईन् ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख सुर्य पाखरेलले विलिङ सिस्टम सन्तोषजनक नभएको बताए । ‘खरिद र बिक्री बिल पनि दिएको हुँदैन भने त्यस्ता ब्यपारी राम्रा हूँदैनन् भन्ने हाम्रो बुझाई हो, उनले भने, कानुन अनुसार विल जारी गर्नु पर्छ त्यसो नगरेको भएमा कार्वाही हुने गरेको छ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले अहिले बजार असाध्यै राम्रो छ भन्ने पनि हैन, तर बजार बर्बाद छ भन्ने अबस्था पनि नभएको बताए । मुख्य समस्या तररकारी र माछा मासुका पसलहरुमा देखिएकोले यसलाई कानुनी दायरामा ल्याउनु पर्ने अबस्था रहेको बताए । अहिले देखिएका सडक खानाहरु पनि खानै नहुने खालको रहेको उनले बताए ।
नापतौल कार्यालय विराटनगरका प्रमुख मनोजकुमार पोखरेलले नापतौलमा समस्या आएको बेलामा उद्योगमा समेत गएर अनुगमन गर्ने गरिएको बताए । कहिलेकाँही त्यस्ता समस्या आउने गरेको छ, उनले भने, महिनामा ५÷६ वटा फर्महरुको अनुगमन भएको छ। उद्योग, ग्यास लगायतको क्षेत्रमा पनि नियमित अनुगमन भईरहेको उनले बताए । वाणिज्य कार्यालयका प्रमुख कमलदेव यादवले अब उपभोक्ता सचेतनाका कार्यक्रमहरु ग्रामिण क्षेत्रमा केन्द्रीत गरेर बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

कसैलाई ठग्ने फुर्सदमा ब्यापारी छैनन्
विराट ब्यापार संघका अध्यक्ष नरेश कुमार खत्रीले बजारमा सबै ब्यापारी नराम्रो पनि नभएको र सबै राम्रो पनि नभएको बताए । अहिले बजारमा म्याद गुज्रिएका सामान बिक्रीबितरण भईरहेको छ भन्ने कुरामा सबैको ध्इान जानु पर्ने बताए । उनले सबैजना पारदर्शी रुपमा ब्यापार गर्ने र मुल्यसुची राख्न ब्यवसायीलाई लगाउने कामहरु भएपनि कतिपय ब्यापारीहरुले नटर्ने समस्या पनि रहेकोले त्यस्ता समस्या समाधान गर्दै जाने उनले बताए ।
मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले पहिलाको जस्तो तौलमा समस्या नभएको बताईन् । अहिले बजारमा जुत्ता, चम्पल, कुर्ता सुरुवाल र साडीमा बढी मुल्य राखिएको हुनसक्ने बताए । त्यसको कारण भनेको चोरी पैठारी भएर आउने सामानहरु हुने उनको तर्क छ । ‘बजारमा धेरै ब्यापारी मध्ये एक दुई ब्यापारीको त्रुटी हुनसक्छ, उनले भने, अहिलेको ब्यस्त समयमा कसैलाई ठग्ने फुर्सदमा ब्यापारी छैनन् ।’
उपभोक्तालाई ठग्नको लागि समय, दिमाग खर्चिनु पर्ने हुन्छ तर यो झमेलामा फस्नु हुँदैन भन्नेमा ब्यापारीहरु देखिएको रिजाल बताउँछन् । उनले राज्यको पोलिसी नै गलत भएको कारण कुर्ता सुरुवाल र साडीमा उपभोक्ताले बढी मुल्य तिर्नु परेको बताए ।

बजारमा अनुचित क्रियाकलाप भएको छ
उपभोक्तावादी कृष्णप्रसाल भण्डारी मार्सेलीले अहिले उपभोक्ता सचेत नहुने हो भने हरेक ठाउँमा उपभोक्ता ठगिने अबस्था आउने बताए । उपभोक्तालाई सचेत बनाउने दायित्व उत्पादक, बितरक र राज्यको भएको उनले बताए । बजारमा अनुचित ब्यापारिक क्रियाकलाप भएको छ, उनले भने, त्यसमा उपभोक्ता सचेत देखिएका छैनन्, मुल्यमा अधिकतम ठग्ने काम भएको छ, कानुनद्धारा निषेधित क्रियाकलाप भएका छन्, ब्यवसायीले मुल्य र मान्यताको ब्यापार गर्नु पर्छ ।’
उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल सामान खरिद गर्दा ब्यापारीले बिल दिनु पर्नेमा बिल नै नदिने गरेको गुनासो गरे । बिल भन्दा बढी मुल्य लिएको पाईएमा कार्वाही हुने भएकोले बजार अनुगमनमा जाँदा खरिद र बित्री बिल लिने हो भने ९० प्रतिशत ब्यापारी जरिवानामा पर्ने उनको दाबी छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्