०७ बैशाख २०८१, शुक्रबार

असुरक्षित हुने गर्भपतनलाई निरुत्साहित गर्न जोड

संवाददाता

विराटनगर । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहीत पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
स्वास्थ्य लाइभले विराटनगरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताए । उनीहरुले असुरक्षित गर्भपतनका कारण महिलाहरुले नै जोखिम मोल्नु पर्ने अवस्था रहेको उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै विराट मेडिकल कलेजका अध्यक्ष तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले असुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरि गर्भपतन गराउनु हुदैन भन्ने सन्देश दिनु आवश्यक रहेको बताए । ‘सकभर गर्भपतन गर्न नपरोस भन्ने मान्यता राख्ने गर्दछु,’ डा. कार्कीले भने, ‘तर पनि अहिले गर्भपतन गराउन आउने गरेका छन् ।’ गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउनुपर्नेमा डा. कार्कीले बताए । ‘गर्भपतन गराउन पाईन्छ वा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान छैन,’ उनले भने, ‘कस्तो अवस्थामा कहाँबाट गर्न पाईन्छ कस्तो अवस्थामा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक रेहको छ ।’ यसमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विशेष पहल गर्नुपर्ने उनले बताए ।
विपी कोइराला विज्ञान प्रतिष्ठानका प्राडा श्याम लम्सालले जथाभावी गर्भतपन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने बताए । औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अबैधरुपमा गर्भपतन गराउने समस्या बढेको उनले बताए । असुरक्षित गर्भपतनलाई निरुत्साहि गर्न जनचेतना अभिबृद्धी गर्नु जरुरी उनले बताए ।
औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्का, मेरी स्टोप्सका केपी उपाध्यय, प्रदेश १ का स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत कृतिश्री दाहालले गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जोगाउन आवश्यक रहेको बताए । उनीहरुले इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारवाट सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्य कर्मि भएको स्वास्थ्य संस्थामा जानुपर्ने बताए ।
अनुमती विनाका औषधी
अनुमती विनाका औषधी गर्भपतनमा प्रयोग गर्ने गरेको पाईएको छ। खुला सिमाना भएका कारण नेपालमा प्रयोग हुने औषधीहरु मध्ये अधिकांश गर्भपतनका औषधी अनुमती विनाको रहेको विराटनगरमा आयोजित एक कार्यक्रममा बताईएको हो । अनुमती नपाएका कयौं प्रकारका औषधि भित्रने गरेको निमनकारी निकायले नै बताउँदै आएको छ। नेपालको औषधि व्यवस्था बिभागमा दर्ता नभएका औषधि फार्मेसी र बिभिन्न क्लिनिकबाट लुकाएर बिक्रिवितरण हुदै आएको चिकित्सकहरु बताउँछन् ।
नेपालमा ५ सयमा पाउने औषधि भारतबाट ५० रुपैयाँमा ल्याएर बिक्रि गरिन्छ । दर्ता बिनाका औषधि माटो बराबरका हुने भएपनि त्यही औषधी प्रयोग हुने गरेको सरकारी संयन्त्र बताउँछ । यस्ता औषधिको प्रयोगले कयौं महिलाको स्वास्थ्यमा गंभिर समस्या मात्रै नल्याएर अधिक रत्तश्राबका कारण मृत्यु समेत भएको अनुमान चिकित्सक र स्वास्थ्य मन्त्रालयको छ । तर, कुनै अध्ययन नभएकाले एकिन विवरण राज्यले दिन सकेको छैन । अहिले नेपालमा ८ प्रकारका औषधी प्रयोगमा अनुमती दिईएको छ तर बजारमा २० प्रकारका भन्दा बढी औषधी विक्री भईरहेको मेरिस्टोप्स् सेन्टरका केपी उपाध्यायले बताए ।
जथाभावी बिनादर्ताका औषधि बिक्री गर्ने फार्मेसी वा मेडिकल सञ्चालकलाई औषधि दर्ता ऐन २०३५ अनुसार तीन वर्ष कैद सजाय वा बिगोका आधारमा जरिवानाको व्यवस्था गरेको छ ।
नेपालमा वि.सं. २०५९ मा गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि बि.स २०६० साल चैत ५ गतेदेखि औजारको प्रयोगबाट गर्भपतन सेवा सुरु भएको हो । त्यस्तै २०६६ सालदेखि नेपालमा औषधिको प्रयोग गरेर गर्भपतन गराउन सुरु गरियो ।
तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष हुने करिब १२ लाख गर्भधारणमध्ये झन्डै आधाले अनिच्छित गर्भधारण गर्ने गरेका छन । जसमध्ये करिब दुईतिहाइ महिला मात्र गर्भपतनको सहज पहुँचमा रहेको तथ्यांक छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्