०७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ लाई चिया विशेष क्षेत्र बनाउने तयारी

संवाददाता

बिराटनगर । चिया क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्न प्रदेश सरकारका मन्त्री र सरोकारवालाले दिगो समाधान निकाल्नु पर्ने बताएका छन् । संवाद समूह प्रदेश १ को समन्वय तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा आज विराटनगरमा भएको संवादमा सहभागीले चिया क्षेत्रका समस्याको दिगो समाधानगर्न प्रदेश सरकारको भूमिका प्रभावकारी बनाउने र समस्या समाधानको लागि सातबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको हो ।
उक्त सातबुँदे प्रतिबद्धतामा प्रदेश १ का उद्योग कृषि तथा सहकारी मन्त्रालयका मन्त्री भक्तिप्रसाद सिटौला, राष्ट्रिय चिया तथा कफि बिकास बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भण्डारी, नेपाली काग्रेस प्रदेश १ प्रदेश सभाका सचेतक भुपेन्द्र राई, नेपाल चिया बगान श्रमिक सघंका अध्यक्ष दिपक तामाङ्ग लगायतले चिया क्षेत्रको समस्या समाधानमा साझा प्रतिवद्धता सहितको पत्रमा हस्ताक्षर गर्नुभएको छ।
वार्षिक चार अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गर्ने प्रदेश १ को मुख्य नगदेबाली चियाको प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश १ लाई प्रदेश सरकारबाट चिया विशेष क्षेत्र घोषणाको पहल गर्ने समती भएको छ।
चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति निर्माण गर्ने र यसका लागि तत्काल पहल थाल्ने जनाइएको छ । त्यस्तै गरि चिया निर्यातमा भारतिय अवरोध हटाउन तत्काल संघिय सरकारसँग समन्व गरी कूटनीतिक पहल गर्ने, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष सरकारी निजीचिया क्षेत्रमा कार्यन्वयन गर्ने गराउने, प्रदेश १ मा चियाको गुणस्तर परिक्षण गर्ने ल्याव स्थापनागरि कार्यन्वयनमा ल्याउने सहमती भएको छ।
त्यस्तै प्रदेश १ मा राष्ट्रिय चिया तथा कफि विकास बोर्डसँग प्रदेश सरकारको सहकार्य र समन्वय सुधार गरि चिया स्थापनाको पहलगर्ने र चिया क्षेत्रको समग्र बिकासमा लगानी बृद्धि गर्ने तथा अक्सन बजार व्यवस्थापन गर्न प्रदेश सरकार मार्फत तत्काल पहल थाल्ने प्रतिबद्धता भनिएकोछ ।
कार्यक्रममा वार्षिक चार अर्ब रुपैयाँ भन्दा बढीको नेपाली चिया विश्वबजारमा िनर्यात हुँदै आएको छ । सरकारको प्राथमिकतामा चिया क्षेत्र पर्न नसकेको सरोकारवालाले गुनासो गरेका छन् ।
नेपाल चिया उत्पादक संघका प्रतिनिधि सुरेशकुमार अग्रवालले विदेशी मुद्रा भित्र्याउने चिया क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले विशेष सुविधा दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पछिल्लो समय चियामा दिईएको अनुदान कटौती हुदै जानु दुःखद् भएको बताउनुभयो ।
ट्रेड युनियन तथा चिया मजदुर नेताहरुले चिया क्षेत्रमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नहुँदा श्रमिकको अवस्था दयनीय भएको बताएका छन् । चिया क्षेत्र बचाउन चिया उद्योगी र किसानलाई सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।
छलफलमा नेपाल चिया उत्पादक संघका प्रतिनिधि, साना किसान चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर तामाङ, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इञ्चार्ज भुपाल सापकोटा लगायतले आफ्नो क्षेत्रका विषयगत समस्या बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका इन्द्र अधिकारीले चिया क्षेत्रको बर्तमान अवस्था र समाधानका उपायको बारेमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्