१३ बैशाख २०८१, बिहिबार

साँढे ३३ किलो सुन काण्ड : प्रतिवादीको तर्फबाट १५ जना वकिलले गरे बहस

संवाददाता

विराटनगर । साँढे ३३ किलोसुनसँग जोडिएको उर्लावारीका सनम शाक्य हत्या प्रकरणको मुद्दा आज पनि हेर्दा हेर्दैमा सकिएको छ। मुद्दाको सुनुवाई शुरु भएको आज तेश्रो दिनसम्मपनि बहस नै चलिरहेको छ। आजसम्म सरकारी पक्षले बहस सकेर प्रतिवादीका तर्फबाट वकिलहरुले बहस गर्ने काम भईरहेको अदालतका श्रेस्तेदार टीकेन्द्रबिरजंग राणाले जानकारी दिए । अदालतमा भएको बुधबारको बहसमा १३ जना वकिलले बहस गरेका छन् ।
आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा ७७ जना माथि कसुर गरेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो । २०७५ बैशाख १९ गते ६६ जनामाथि मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दामा अन्य ब्यक्तिको समेत संलग्नता रहेको भन्दै तीन पटक पुरक अभियोग दर्ता गरेको छ ।
जिल्ला न्यायाधीश भरत लम्सालको ईजलाशमा शुरु भएको अन्तिम सुनुवाईको क्रममा बुधबारसम्ममा प्रतिबादीका तर्फबाट १५ जना वकिलहरुले बहस गरिसकेका छन् । बुधबार मात्र १३ जना वकिलले प्रतिबादीको तर्फबाट बहस गरेको मोरङ जिल्ला अदालतका सुचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । धमलाका अनुसार बुधबार बहस गर्ने वकिलहरुमा बिनोद तिम्सना, बिकास थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुईटेल, ज्ञानेन्द्र थापा, रामबन्धु शर्मा, भरतप्रसाद खरेल, रमेश महर्जन, शान्तीराम भण्डारी, रामप्रसाद भण्डारी र अमरबहादुर राउत छन् । बहसका लागि १४ जनाले नाम टिपाएकोमा १३ जनाले मात्र बहस गर्न पाएको उनले बताए । यसअघि नै सरकारी वकिलको तर्फबाट ३ जनाले बहस गरिसकेका छन् । प्रतिवादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता मनिषबाबु पोखरेलले बहस गरेका हुन् ।
अभियोगमा ३८ क्विन्टल सुन चोरी तस्करी भएको दाबी गरिएको छ । अभियोग दर्ता भएका मध्ये ५५ जना पक्राउ परेका छन् भने २२ जना अझै फरारको सुचीमा रहेको प्रहरीको दाबी छ । सुन तस्करीको विषयलाई लिएर मुख्य योजनाकार भनिएका उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती सहितको समुहले उर्लाबारीका सनम शाक्यको हत्या गरेको अभियोग लगाईए छ । हत्या भएका शाक्य भरियाको रूपमा प्रयोग भएका व्यक्ति भएको प्रहरीको भनाई छ ।
मुख्य अभियुक्त भनिएका गोरेको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करीमार्फत भित्राएको साढे ३३ किलो सुन काठमाडौँ ल्याइपु¥याएपछि गायब बनाइएको भनिएको छ । अहिलेसम्म फेला नपरेको सुन कहाँ छ त्यो कुनै उल्लेख छैन ।
यो मुद्दामा प्रहरीका उच्च अधिकारीलाई समेत प्रतिवादी बनाएको छ । कोही उच्च अदालतबाट छुटीसकेका छन् भने केही अझै जेलमा नै रहेका छन् । सुन तस्करका भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धान थाल्दा विदेशबाट झन्डै ३८ क्विन्टल सुन तस्करी गरेर नेपाल ल्याइएको प्रहरीले भन्दै आएको छ।

यहाँ कमेन्ट गर्नुहोस्