०८ बैशाख २०८१, शनिबार

विराटनगरकी लीलाको उद्यम, हातले बनाईएका बाँसका सामाग्रीबाट पहिचान खोज्दै

चीना थापा

लीला निरौला रिजाल

विराटनगर । स्थानीय स्रोत साधनलाई प्रयोग गरेर उद्योग सञ्चालन गर्न सकिन्छ । स्थानीय स्रोतलाई चिनेर थोरै लगानीमा पनि काम गर्न सक्यो भने त्यसले ठूलो प्रतिफल दिन्छ भन्ने कुरा विराटनगर २ शंकरपुरकी लीला निरौला रिजालले प्रमाणित गरेकी छिन् । उनीले २ बर्षदेखि बाँसका विभिन्न सामाग्री बनाउने उद्योग सञ्चालन गरिरहेकी छिन् ।

२०७० सालदेखि उद्योग स्थापना गरेर व्यवसायिक यात्रा सुरु गरेकी रिजालले सुरुमा क्रिस्टलका सामाग्री बनाउने उद्योग सञ्चालन गरेकी थिईन् । समय परिवर्तनसँगै उद्योगको उत्पादनमा पनि परिवर्तन ल्याउनपर्छ भनेर उनले  दुईबर्ष अघिदेखि बाँसबाट निर्माण हुने सामाग्री बनाउने उद्योगको सुरु गरेकी हुन ।

दुई बर्ष अघिदेखि सुरु भएको शुभलक्ष्मी हस्तकला उद्योगमा आकर्षक ‘गिफ्ट आईटमहरु’ बन्छन् । प्रदेश १ को पर्यटकीय स्थलहरुको सहितको नक्सा र नेपालको नक्सा भएको फ्रेमलगायत विभिन्न किसिमका घडीहरु पनि उद्योगमा बन्ने गरेका छन् । ५ लाख रुपैयाँबाट सुरु भएको उद्योगमा अहिले १० लाख रुपैयाँ लगानी पुगिसकेको उद्योग सञ्चालक रिजालले बताईन ।

उद्योगमा उत्पादन भएको सामाग्रीहरु प्रदेश १ का जिल्लाहरुका साथै काठमाडौमा बढी बिक्री हुने गरेको छ । प्रदेशको पर्यटकीय स्थलसहितको नक्सा राखेर निर्माण गरिएका फ्रेमहरु प्रदेश सरकारको अर्डरमा पनि निर्माण हुने गरेको छ ।

उद्योगमा ४ जनाले रोजगारी पाएका छन् । कोभिडको समयमा पनि उद्योग बन्द भएन । सामान स्टक राखेर पनि काम निरन्तर भईरह्यो । उद्योगमा महिलाहरु नै काम गर्ने भएकाले पनि उद्योग बन्द नगरेको रिजालले बताईन् । महिलाहरु आर्थिक रुपले सक्षम हुनुपर्छ भनेर सञ्चालन गरिएको उद्योग भएकाले बन्द नगरिएको उनको भनाई छ ।

‘कोरोनाको मारमा कत्ति भोकै परे, आम्दानी नभएपछि के खानु, मैले काम दिएकाहरु भोकै बस्नु नपरेस् भनेर सुरक्षाको मापदण्ड अपनाएर काम गर्न भने, उद्योग बन्द गरिन’, उनले भनिन्, ‘मजदुरले काम गरेको तलबबाट त घरपरिवार पाल्ने हो, उद्योग नाफामा हुँदा राख्ने, घाटामा हुँदा निकाल्ने गर्यौ भने उनीहरुले परिवार कसरी पाल्ने, सामान स्टक राखेर भए पनि मैले रोजगारी दिएकालाई काम गर्न नआउनु भन्न सकिन ।’

सानो लगानीमा उद्योग सञ्चालन गरेका महिलाहरुलाई कोभिडको कारण निकै मार परेको अवस्था छ । महिला उद्यमीहरुलाई बैंकहरुले सहुलियत कर्जा दिने भए लिन निकै गाह्रो हुने गरेको उनको अनुभव छ । महिलाहरुलाई सर्वसुलभ तरिकाले कर्जा दिने व्यवस्था हुनुपर्ने उनको माग छ । सरकारले पनि महिला उद्यमीलाई ध्यानमा राखेर काम गर्नुपर्ने उद्योग सञ्चालिका रिजालको सुझाव छ ।

कोरोना नहुँदा उद्योगबाट धेरै सामान निर्यात हुने गरेको थियो । तर अहिले कोरोनाका कारण समस्या भएको उद्योगले जनाएको छ । अहिले उत्पादित गिफ्ट आईटमहरु स्टक नै रहेको रिजाले बताइन । उद्योगबाट बढीमात्रामा गिफ्ट आईटमहरु बन्ने भएकाले विवाहको सिजन र विभिन्न खालका कार्यक्रममा जाने गरेको छ ।

स्थानिय स्तरको स्रोत साधनलाई उपयोग गरेर निर्माण भएको र हातले बनाइने भएका कारण पनि उत्पादित सामाग्री निकै आकर्षक देखिन्छन् । उद्योगबाट उत्पादित सामाग्री सबैको रोजाईमा पर्न सफल भएको छ । घरमा सजावटका लागि पनि धेरैले लैजाने गरेका छन् ।

आफ्नै स्रोत साधन प्रयोग गरेर नेपालीको चिनारीको रुपमा बनाईएका हस्तकला सामाग्रीको बजार व्यवस्थापन हुन नसकेको उनको भनाई छ । स्थानीय उत्पादनलाई प्रवर्दनका लागि एयरपोर्ट तथा विदेशी पर्यटक आउने ठाउँमा विक्री वितरण व्यवस्था मिलाउन सके नेपाली उत्पादन विदेशसम्म पुग्ने र नेपाली हस्तकला सामाग्रीको पहिचाहन बन्ने उनले बताइन ।

उद्योगमा लगानी बढाएर अझै धेरैलाई रोजगारी दिने उनको चाहना छ । उद्योगमा लगानी बढाएर उत्पादन बढाउदा स्थानीय तथा प्रदेश सरकारले पनि हस्तकला सामाग्रीको बजारीकरणमा सहजीकरण गर्नुपर्ने उनको तर्क छ ।

यहाँ कमेन्ट गर्नुहोस्