१६ मंसिर २०७९, शुक्रबार

लोक दोहोरी गाउने रहरले गायिका बनेकी गंगा

संवाददाता

गायिका गंगा गौतम आचार्य

२०३६ सालमा जन्मिएकी गायिका गंगा गौतम आचार्य अहिले इटहरीमा बस्दै आएकी छन् । १५ वर्षदेखि गीत गाउन थालेकी गंगाले पूर्वेलीले पनि लोक दोहोरी गाउन सक्छन् भन्ने कुरालाई थप प्रमाणित गरिन् । पूर्वकी छोरी पश्चिमी गीतको प्रभावले अहिले उनी पूर्वेली गीतमा भन्दा पनि गण्डक क्षेत्रका गीतमा रुचि राख्छिन् । उनै गायिका गंगा गौतम आचार्यसँग  कुराकानी गरिएको छ ।

गीत गाउन थाल्नुभएको कति भयो ?
१५ वर्ष जति भयो । गीत गाउन मैले दोहोरीबाट सुरु गरेकी हुँ । पहिला गीत लेख्ने गरेकी थिएँ । लेख, कथा, कविताहरू मलाई खुब लेख्न मन लाग्थ्यो । त्यसपछि दोहोरी गाउन थालेँ । एकैपटक लिड गरेर गाउन थालेँ । आफ्नै गीत रेकर्ड गर्न थालेको ६ वर्ष भयो । स्टेजमा गीत गाउँदा अरूको गीतलाई गाउँदा जहाँ गायो त्यहीँ छाडेर हिँड्नुपर्ने भएपछि आफ्नै गीतहरू रेकर्ड गर्न थालेँ । सुरुमा त स्टेजमा गएर गीत गाउन आफूमा आत्मविश्वास नै थिएन ।

स्टेजमा गएर कार्यक्रम गर्न सक्छु भन्ने नै लाग्दैन थियो । बिस्तारै गाउँदै जाँदा बानी पर्‍यो । प्रोफेसनलसँग दोहोरी गाउँदा निरन्तर ४५ मिनेटसम्म दोहोरी गाएँ; त्यसले मलाई लोक दोहोरीमा ल्यायो । ‘माझी दाइ पोखरा फेवातालको‚ लाऊँ माया साँच्चैको नलाऊँ भो ख्यालख्यालैको’ गीत नै मैले पहिलो पटक दोहोरीमा गाएको गीत हो । दोहोरी अरूजस्तो सजिलो छैन । केटाले उठाएको सवाललाई लयमा जवाफ फर्काउन निक्कै कठिन नै हुन्छ तर मलाई सुरुदेखि नै गाह्रो भएन ।

पूर्वमा दोहोरी गाइँदैन थियो तर तपाईँले त पेसा नै दोहोरीलाई बनाउनुभयो ?
पूर्वमा दोहोरीलाई जुहारी भनिन्छ । पूर्वमा लोक दोहोरी गाउँदै गाइँदैन भन्ने होइन । पूर्वमा त्यस्तो दोहोरी गाउने कलाकार नभएर हो । ओठे जवाफ गर्नका लागि क्रियशनको कुरा हो । गाउन त गाइन्छ, मानिसले पनि निक्कै रुचाउँछन् तर मान्छे नै छैनन् । गाउने, बजाउने, केटा भेटिए, केटी भेटिन्न केटी भेटिए केटा भेटिन्न । अझ पूर्वतिरै जन्मेर दोहोरी गाउने त पाउनलाई कठिन छ । पश्चिमबाट आएर काम गर्नेहरू भने थुप्रै छन् । दोहोरी साँझहरूमा आएर गीत गाउनेहरू पनि सबै पश्चिमतिरका हुनुहुन्छ ।

लामो समय अरूको गीत गाउनुभयो, तपाईँ आफैँले रेकर्ड गरेको पहिलो गीत कुन हो ?
आफैँले रेकर्ड गरेको पहिलो गीत ‘हाम्रा बाउका ज्वाइँले’ भन्ने तीजको गीत हो । त्यो गीतबाट सुरु भएको आफ्नो गीत रेकर्डिङको क्रम अहिलेसम्म आउँदा झण्डै ६० वटा पुगेको छ । ४० वटाजति भिडिओमा नै छायाङ्कन गरिसकेको छु ।

तपाईँलाई मौसमी गायिका भन्छन् नि ?
पहिला-पहिला त त्यस्तै भन्नुहुन्थ्यो । पहिला ट्रायलका लागि मौसमी नै गीतहरू गाएँ, अहिले सबै खालका गीतहरू गाउने गरेकी छु । भर्खरै २ वटा गीत सार्वजनिक गरेको छु । काठमाडौँमा गएर रेकर्ड गरेर सकेर अहिले युट्युब मार्फत सार्वजनिक पनि भइसकेको छ । त्यो गीत एउटा पूर्वेली पारामा गाएको छ भने एउटा पश्चिमेली गरी दुईवटा गीत सार्वजनिक गरेको छु । ‘गण्डकी र बाँचुन्जेली’ बजारमा आएको एक महिनाजति मात्र भएको छ । नयाँ अर्को गीत पनि ल्याउने तयारीमा छु । शम्भु राई दाइसँग गीत गाउने तयारी भएको छ, उहाँसँगको गीत भोकल हाल्ने तयारीमा छु ।

पूर्वेली गीत धेरै गाए पनि एउटा गीत शम्भु दाइसँग गाउनुपर्‍यो इतिहास हुन्छ भनेर त्यसको तयारीमा छु । म आफैँले शब्द लेखेको छु, पारस मुकारुङ दाइले संगीत गर्दै हुनुहुन्छ । सुरुमा रहरै रहरमा दोहोरी गीतमा लागेको मलाई अहिले गीत संगीत भनेको मेरा लागि व्यवसाय बनिसकेको छ ।

गीत रेकर्डमा कति रकम खर्च गर्नुहुन्छ ?
सामान्यतया एउटा गीत रेकर्ड गर्न ६० हजार खर्च गर्छु । म्युजिक भिडिओ बनाउनुपर्‍यो भने २ देखि १० लाखसम्म खर्च हुने गरेको छ । यसो हेर्न हुने खालको भिडिओ बनाउनुपर्‍यो भने पनि १ लाख ५० हजार रुपैयाँभन्दा तल राम्रो देखिँदैन । अहिले त गीतले लागत पनि उठाउँदैन ।

कार्यक्रमहरू पाउँदा, मेला महोत्सवहरू पाउँदा मात्र केही राहत मिल्ने हो‚ नत्र गीत गाएर पैसा कमाउने भन्ने त छैन । मैले डेढ २ लाखमा म्युजिक भिडिओ बनाएँ भन्दा सबै अचम्ममा पर्नुहुन्छ । तर‚ आफूले रेकर्ड गरेका गीतहरू आफैँलाई मनपर्‍यो भने मात्र अरूले मन पराइदिनुहुन्छ । जस्तो: पछिल्लो एउटा गीत बाँचुन्जेली निक्कै मनपर्ने गीतमध्येको एक हो । यो धेरैले मन पराइदिनुभएको गीत हो ।

राजधानीकाले बाहिरी जिल्लाका गायक गायिकालाई त कलाकार नै मान्दैनन् नि होइन ?
अहिले त्यस्तो छैन । पहिला निक्कै ठुलो समस्या थियो । पहिला काठमाडौँमा बसेकालाई मात्र गायक/गायिका मान्थे । अहिले त्यस्तो देखिँदैन । स्थानीय कार्यक्रमहरूमा पनि हामी स्थानीयलाई पनि राष्ट्रिय कलाकारकै रूपमा बोलाइएको हुन्छ । स्थानीय कार्यक्रम स्थानीय कलाकारबाट गर्न सकियो भने पैसा पनि बच्ने भन्ने खालको भावना देखिन्छ ।

तपाईँ गीत/संगीत बाहेक के गर्नुहुन्छ, तपाईँको खास योजना के हो ?
धेरैले मलाई मेरो योजना सोध्नुहुन्छ । तर‚ म आफैँ पनि एउटा ट्रेनर हुँ, तालिमहरू दिन्छु । योजना बनाएर काम गर्‍यो भने मात्र सफल भइन्छ भन्ने मलाई लाग्छ । अहिले मैले बिजनेस हब हेरिरहेको छु, उद्यमशीलता विकास भन्ने हाम्रो कलेजमा पढाइहुन्छ । यति भन्दाभन्दै पनि म आफू व्यक्तिगत रूपमा कुनै योजना बनाउँदिनँ । कर्म गर्दै जाने हो उपलब्धि हात पर्दै गएका छन् । एउटा संस्थामा तालिम संयोजकको रूपमा काम गर्छु । मिडियामा पार्ट टाइम काम गर्छु । ओसियन पार्कमा गुड फ्राई डे दोहोरी गाउन थालेको निरन्तर ५ वर्ष भयो । आफ्नो कर्मले निरन्तर योजनाहरू तय गर्ने रहेछ ।

मेरो आफ्नो खास योजना भनेको एउटा किताब लेख्न मन लागेको छ । आफ्नो हरेक अनुभवलाई समेटेर एउटा किताब लेख्ने तयारी गर्दैछु । १४ वर्षदेखि एनजिओमा काम गरेको अनुभवले पनि मलाई धेरै भन्दा पनि एउटा किताब लेख्ने सोच जन्माएको छ, त्यो मेरो योजनाभित्र परेको छ । माया घर नेपाल भन्ने संस्था हामीले अहिले चलाएका छौँ । सडक मानवलाई व्यवस्थापन गर्न लागेका छौँ । हामीले निको पारेर घर फर्काउने काम गरेका छौँ । महिला सीप विकास केन्द्रको तालिम संयोजकको पनि काम गर्छु । महिला सञ्जालमा पनि सक्रिय भएर लागेकी छु ।

यहाँ कमेन्ट गर्नुहोस्