१३ बैशाख २०८१, बिहिबार

युवा शक्ति र पहिचान गर्न नसकेको प्राथमिकता

सरला राई

सरला राई, उपाध्यक्ष, मिक्लाजुङ गाउँपालिका

शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्था बिचको उमेर समूहलाई जनाउँछ । यो समूह जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान र गतिशिल समूह हो । युवा शक्ति कुनैपनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हुन् । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेको विकसित तथा विकासशिल, विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । हरेक देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेको पाईन्छ । यो समूहलाई व्यवस्थित रुपले परिचालन गर्दा समृद्वि र विकासको सुनौलो युगमा प्रवेश गर्न सक्ने अवसरको अवस्थामा रहे पनि देशको राजनितिक संक्रमणका कारण देशको आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षाकृत परिवर्तनहरु हुन सकेको छैन ।

युवा शक्तिलाई व्यवस्थित गर्न नीतिगत प्रयासहरु हुँदै आएको भए पनि व्यवहारिक हिसाबले अथवा ती नीतिहरुको कार्यन्वयनको हिसाबले आजसम्म पनि ज्युँ का त्युँ नै रहेको छ । एकात्मक तथा केन्द्रिकृत शासन प्रणाली अन्तर्गतको शासन व्यवस्थामा मुलुकले शून्यमा निक्कै लामो समय खर्चेको छ । तर पनि त्यो अवधिमा देशको चौतर्फी विकासको मापन गर्ने हो भने साह्रै न्यून देखिन्छ । हरेक लक्षित समूहहरु (महिला, बालबालिका, दलित, जनजाती,अशक्त,जेष्ठ नागरिक) ओझेलमै ओझेलिँदै आएका छन् । त्यसमा युवा पनि बाहिरिएको अवस्था छैन । युवा शक्तिका लागि पर्याप्त श्रोत साधन थिएन । सीमित भए पनि केन्द्रिकृत गरिन्थ्यो । युवा शसक्तिकरणका केही गतिविधिहरु संचालन नभएका होइनन तर, जति भए केन्द्रमै सीमित रहे । ग्रामीण तहसम्मका युवाहरु यस बिषयमा बेखबर नै रहदै आएको देखियो ।

नेपालमा भएका विभिन्न चरणका सामाजिक आन्दोलनहरु, हरेक राजनीतिक परिवर्तनरु, लोकतन्त्रको स्थापना र संघीय लोकतन्त्रिक गणतन्त्र स्थापनाका लागि युवाले गरेको उल्लेखनीय योगदानको कदर गर्दै नेपाल सरकारले युवालाई परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिका रुपमा स्थापित गर्दै उनीहरुको आधारभूत अधिकारहरुको सुनिश्चित गरी सशक्तिकरणको माध्यमबाट सामथ्र्यवान, उद्यमशील, सिर्जनशील र सकरात्मक सोंच युक्त युवा तयार गर्नमा जोड दिँदै विशेष सम्बोधन गर्नुपर्ने देखिन्छ । राज्यले युवा लक्षित विभिन्न कार्यक्रमहरुको तर्जुमा गरेको भए पनि स्थानीय स्तरसम्म यसको कार्यन्वयन एकदमै न्यून छ । स्थानीय तहको सीमित श्रोत साधनले नागरिकको असीमित आवश्यकता पूरा गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको कारणले युवाका लागि ठोस नीति र कार्यक्रम बनाएर काम गर्ने अवस्था रहेको देखिँदैन ।

धरै संख्यामा युवाहरुको ईच्छाशक्ति भएर पनि अझै उचित व्यवस्थापन हुन सकिरहेको छैन । शिक्षित युवाहरु हातमा प्रमाणपत्र लिएर बेरोजगार भएर बसिरहेका छन्, हातमा सीप भएका युवाहरु लगानी गर्ने पुँजी र काम (सेवा) गर्ने ठाउँ नभएर बसिरहेका छन्, आफूसंग केही नभएका युवाहरु दिनानुदिन कुलत र दुव्र्यसनीमा फंसेका छन् । युवामा काम गर्ने तागत छ ठाउँ छैन । प्रसस्त समय छ तर काम छैन । हो यिनै उमेर समूहका र यस्तै युवा समूह हरेक कुरालाई नकारात्मक मात्र देख्छन् र भएको केही राम्रा कामहरुमा पनि नकारात्मक टिप्पणीका स्वरहरुमा साथ दिन पुग्छन् । तिनै किसिमका युवाहरुले सरकारलाई गाली मात्र गरिरहेका छन् । बोल्नेले जत्तिखेर पनि सरकारविरुद्व बोलीरहेका छन्, लेख्नेले जत्तिखेर पनि सरकारविरुद्व मात्र लेखिरहेका छन् । सामाजिक संजाल, पत्रपत्रिका, अनलाइनमार्फत सरकारको खैरो खनिरहेका छन् । जुनसुकै सरकार आएपनि सरकारप्रतिको सकारात्मक बुझाई र दृष्टिकोण कमैमा मात्र भएको पाईन्छ । नैतिकता, इमान्दारिता, अनुशासन, जवाफदेहिता र सामाजिक उत्तरदायित्व जस्ता विषयहरुमा धरै युवाहरु जानकार भएर पनि अनविज्ञ झैं भएर एकोहोरो असन्तुष्टि मात्र पोखिरहेका छन् ।

हुन त अहिलेको अवस्थामा हामी सबैलाई चाहिएको विकास नै हो । समाज रुपान्तरण नै हो, समृद्वि नै हो । तर हामी सबैको ध्यान भौतिक विकास निर्माणतर्फ मात्र केन्द्रित छ । नागरिकको होस्, संघ संस्थाको होस्, स्थानीय सरकारका जनप्रतिनिधिको होस्, प्रदेश सरकारको होस् या संघीय सरकारको नै किन नहोस् सबैको प्रथमिकता बाटोघाटो र अन्य पूर्वाधारमा नै देखिन्छ । सामाजिक र आर्थिक रुपान्तरणका लागि पनि केही प्रयासहरु हुन थालेका छन् तर जति भौतिक रुपान्तरणमा जोड छ त्यति अरु क्षेत्रमा छैन । अबको मुलुकको आवश्यकता आर्थिक शसक्तिकरण नै हो । संघीय सरकार र प्रदेश सरकारले आफ्नो नीति कार्यम्रम तथा बजेटमा युवा लक्षित कार्यक्रमहरु बनाएको छ । निर्धारित कार्यक्रमहरु नीति संगत र बिधि संगत कार्यन्वयन गर्ने हो भने केही मात्रामा तमाम युवाहरु समेटिने देखिन्छ । त्यो भन्दा पनि अलि धेरै संख्यामा युवा लक्षित ठोस कार्यक्रम ल्याएर ससर्त रुपमा स्थानीय स्तरमा पठाउने हो र स्थानीय सरकारले पनि आर्थिक शसक्तिकरणलाई मुख्य प्राथमिकतामा राखि ठोस् कार्यक्रम बनाउने र कार्यन्वयन गर्ने हो भने सबै युवाहरु संगठित भै विस्तारै उद्यमी/व्यवसायी हुने छन् ।

ठोस कार्यक्रम बनाएर काम गर्न शुरु गर्ने हो भने सबै युवा जमात तत्पर हुने कुरामा दुई मत छैन । साना÷ ठुला ÷ मझौला व्यवसाय गर्न थालेपछि आर्थिक रुपमा शसक्त हुँदै जानेछन् । यसले समाज रुपान्तरण हुने र स्थानिय अर्थतन्त्र पनि बलियो हुने थियो । फुर्सद नभएपछि विबकृति विसंगति पनि आफैँ नियन्त्रण हुँदै जानेहुन्छ ।

वर्तमान युवाको अवस्थाको सन्दर्भमा तिनै तहको सरकारले विशेष महत्व दिनुपर्ने देखिन्छ । सबैभन्दा नजिकको सरकार भएका कारणले स्थानीय तहको सबै जनप्रतिनिधिहरुको साथै सबै क्षेत्रको नेतृत्वको सोंच आर्थिक रुपान्तरण र युवा व्यवस्थापन लागि सकारात्मक हुनु जरुरी छ । संधै बाटो घाटो, भवन, पुल, खेल मैदान, सामुदायिक भवन निर्माण र सडक बनाउन मात्र जोड गर्यौं भने हामीले चाहेको आर्थिक संमृद्विको पाटो जहाँको त्यहीँ हुनेछ । त्यसैले तिनै तहका सरकारहरु र सरकारका विभिन्न अंगहरु, विभागीय जिम्मेवारी पाएका जिम्मेवार व्यक्ति, तिनै तहका जनप्रतिनिधिहरु अनि सामाजिक अगुवाहरुले अब चाहीँ हाम्रो समाजको सामाजिक गतिविधि र आर्थिक शसक्तिकरणका लागि अदम्य साहस, जोस जांगर, कर्मशील हात र वैचारिक ज्ञानका साथ, समाजका विकृती र विसंगतीविरुद्व संधैभर अग्रभागमा रहेर काम गर्ने सामथ्र्य बोकेका नेपाली युवा हरुको उचित व्यवस्थापनलाई जोड दिएमा पक्कै पनि हामीले चाहेको ‘सुखी नेपाली समृद्व नेपाल’को नाराले सार्थकता पाउनेछ । अन्त्यमा सबैमा अन्तराष्ट्रिय यूवा दिवसको शुभकामना । (लेखक राई, मिक्लाजुङ गाउँपालिका मोरङकी उपाध्यक्ष हुन् ।)

यहाँ कमेन्ट गर्नुहोस्