२० बैशाख २०८१, बिहिबार

स्मार्ट बन्दै झोराहाटको सरस्वती मा.बि.

संवाददाता

सरस्वती नमूना मावि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका- २ मा रहेको सरस्वती नमूना माविका शिक्षकलाई कोभिडकालमा पनि भ्याई नभ्याई छ । उनीहरू दिनहुँ अनलाइन कक्षा लिइरहेका हुन्छन् । ११ सय ८३ जना विद्यार्थी रहेको यस विद्यालयका सबै शिक्षकलाई ल्यापटप उपलब्ध गराई विद्यार्थीलाई समेत प्रविधीमैत्री बनाएर अनलाइन कक्षालाई प्रभावकारी रुपमा अघि बढाइएको विद्यालयले जनाएको छ । विद्यालयमा ६ सय ५१ र छात्र ५ सय ३२ जना रहेकोमा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी २ सय ५० जना छन् । ३ वर्षअघिसम्म चुहुने टिनको छाप्रामुनि पढाइ हुने यो विद्यालयमा अहिले विद्यालयका पक्की भवन बनेका छन् । कक्षाकोठा नै पिच्छे नै नयाँ नयाँ कुरा जडान गरी प्रविधिमैत्री बनाउने प्रयास देखिन्छ । विद्यालयमा विद्यार्थीका लागि ३५ वटा कम्प्युटर राखिएको छ ।

आईसीटी ल्याबकै रुपमा शुरु भएको यस विद्यालयले विगत ३ वर्षअघिदेखि कम्युटर शुरु गरेको हो । पहिला थोरै कम्युटरबाट पठन पाठन गराउनुपर्ने बाध्यतामा रहेको विद्यालय अहिले भौतिकसँगै प्राविधिक रुपमा पनि अब्बल बन्दै गएको शिक्षक‚ विद्यार्थी बताउँछन् ।

संरचनामा अब्बल बन्दै
२०१४ सालमा स्थापना भएको यो विद्यालय पुरानै अवस्थामा थियो । विद्यालयमा वि.सं. २०४५ को भुइँचालोका बेलाका संरचना थिए । तीन वर्षमा पुराना टिनका छाना भएका र अस्थायी भवन विस्थापन गरी नयाँ बनाइएको विद्यालयले जनाएको छ । नमूना विद्यालय गुरुयोजना संचालनमा आएपछि २०७५/०७६ मा भवन विस्थापन भएर नयाँ संरचना निर्माण भएको विद्यालयका प्रधानाध्यापक अशोक लुइँटेलले बताए । अहिले १ करोडभन्दा धरै लगानीमा १६ कोठाको ३ तले विद्यालय भवन बनेको छ ।

विज्ञान प्रयोगशाला र सिभिल ईन्जिनियरिङ ल्याब तथा सभा हलसहितका संरचना निर्माणमा २ करोड लागेको प्रधानाध्यापक लुइँटेल बताउँछन् । आईसीटी ल्याबमा ३५ डेस्कटप छन् भने शिक्षकहरूलाई ३० वटा ल्यापटक दिइएको छ । पहिलो चरणमा एक शिक्षक‚ एक ल्यापटप योजनाअनुरूप गत आर्थिक वर्षमा ल्यापटप दिइएको हो । त्यस्तै विद्यालयमा ईन्ट्याक्टीभ बोर्ड राखिएको छ भने बाल कक्षामा स्मार्ट टीभी जडान गरिएको छ ।

हरेक कक्षा कोठामा सिसिटिभी २ लाख ६२ हजार ५ सयसहितको प्रविधिमैत्री अडिओ सूचना प्रणाली जडान गरिएको छ । आईसीटीमा करिब ३० लाख खर्च गरिसकिएको विद्यालयले जनाएको छ । जीवनसँग गणितलाई जोड्न म्याथ ल्याब संचालनमा ल्याइएको विद्यालयले जनाएको छ । गणित प्रयोगशाला प्रदेश १ कै नमूना प्रयोगशाला भएको दाबी विद्यालयको छ ।

संघीय सरकारको नमूना विद्यालय कार्यक्रमअन्तर्गत धेरै विद्यालय नमूना विद्यालयको रुपमा सुचीकृत भएका छन् । ती विद्यालयले नमूना कार्यक्रम नै शुरु गरेका छन् । संघीय सरकारले नमूना कार्यक्रममा हरेक वर्ष एक करोड ५० लाख रुपैयाँ विद्यालयलाई पठाउँदै आएको छ ।

आ.ब.२०७५/०७६मा १ करोड ५० लाख रकम पाएपछि विद्यालयले नमूना विद्यालय गुरुयोजनाका आधारमा विद्यालयलाई नमूना बनाउने अभियान शुरु गरेको हो ।

पहिलो वर्ष निकासा भएको रकमबाट ६५ प्रतिशत भौतिकमा, ३५ प्रतिशत शैक्षिक र १० प्रतिशत व्यवस्थापनमा खर्च गर्ने प्रावधान थियो ।

पहिलो वर्ष आएको बजेटबाट विद्यालयले भौतिक संरचना निर्माणअन्तर्गत ४ कोठे पक्की संरचनामा निर्माण गरेको थियो । सोही वर्ष नमूना विद्यालय गुरुयोजनाअनुसार, आईसीटी शिक्षक, आया र प्राथमिक तहको अंग्रेजी माध्यमको १ जना शिक्षक तथा १ जना प्रशासनिक कर्मचारी व्यवस्थापन गरेको विद्यालयका प्रधानाध्यापक लुईँटेलले मकालुखबरलाई जानकारी दिए ।

त्यस्तै आ.ब. २०७६/०७७ मा प्राप्त १ करोड ५० लाख रुपैयाँबाट विद्यालयले दोस्रो तलाको संरचना थप, विज्ञान प्रयोगशालाको निर्माण र सभाहलको निर्माण, डेस्कटप कम्प्युटर र प्रोजेक्टर खरिद गरिएको जनाएको छ । आ.ब. २०७७/७८ मा पनि अघिल्ला आर्थिक वर्षहरू जस्तै १ करोड ५० लाख आएकोमा खानेपानी शुद्धीकरणका लागि धारा तथा ट्याङ्की निर्माण, बाल कक्षा व्यवस्थापनसहित विद्यार्थीलाई खेल सामग्री, गणित ल्याब, एक शिक्षक एक ल्यापटप, ईन्ट्याक्टीभ बोर्ड, सीसी क्यामेरा जडान, विद्यालय खेल मैदानमा ब्लक बिछ्याउने कामसँगै कार्यालयको आन्तरिक व्यवस्थापनको काम भएको विद्यालयले जनाएको छ ।

लकडाउनमा अनलाईन
लकडाउनको समयमा धेरैजसो सामुदायिक विद्यालयमा पढाइ हुन सकेन । कतै विद्यार्थी सूचना प्रविधिक पहुँचमा नहुने त कतै शिक्षकसँगै कम्प्युटर नुहनेजस्ता समस्या देखिएकाले अधिकांश शिक्षक‚ विद्यार्थी घरमै बसे । तर सरस्वती नमूना माविमा अहिलेसम्म अप्ठेरो नै परेका केही दिन बाहेक विद्यालय बन्द गर्नु नपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सरदारले बताए ।

विद्यार्थीलाई पालैपालो बोलाएर पाठ्यपुस्तक वितरण, नेपाल सरकारबाट प्राप्त शिक्षण सहयोग सामग्रीको वितरण, वाईफाई र डाटा प्याकको पहुँच भएकाहरूका लागि अनलाईन कक्षा र अनलाईनको पहुँच नभएकाहरूका लागि शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रबाट रेडियो र टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको बारेमा सुसूचित गर्ने काम गरिएको उनले बताए ।

२०७७ साउनदेखि अनलाइन कक्षा शुरु भएको थियो । त्यसअघि यसबार विद्यार्थीलाई विद्यालयमा बोलाएर समूहगत छलफल गराई जानकारी दिएकाले सजिलो भयो । उनीहरूले घरबाट नै अनलाइन कक्षा लिए । मंसिरसम्म भर्चुअल कक्षा चलेपनि मंसिरदेखि भौतिक रुपमा नै कक्षा सञ्चालन भयो । तर फेरि कोभिड कहर बढेपछि २०७८ वैशाख १० पछि पढाइ हुन सकेन ।

अनलाईनतिरै
गतवैशाख १० देखि असारसम्म विद्यालयमा कुनैपनि शैक्षिक गतिविधि भएनन् । असार १ गतेदेखि विद्यालय भर्ना कार्यक्रम शुरु भयो र त्यसयता भर्चुअल कक्षाहरू संचालन भइरहेको विद्यालयका आईसीटी शिक्षक अधीश आचार्यले जानकारी दिए । विद्यालयले पूर्वप्राथमिक तहका बालबालिकालाई समेट्न नसकेपनि १ देखि ३ कक्षासम्मलाई हप्तामा एकदिन टोलमै शिक्षक गएर शिक्षण सहजीकरण गरेको विद्यालयले जनाएको छ ।

शिक्षक आचार्यका अनुसार अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति सन्तोषजनक छ । कक्षा ४ मा ३६ जनामध्ये १२ जना, कक्षा ५ मा ३० मध्ये २१ जना, कक्षा ६ मा ६५ मध्ये ४० जना, कक्षा ७ मा ८० मध्ये ६१ जना सहभागी हुने गरेको आचार्य बताउँछन् । कक्षा ८ मा ९७ जनामा ८० जना, कक्षा ९ मा १६० जनामा १३० जना र कक्षा १० मा १७० जना विद्यार्थीमध्ये १४५ जनाले अनलाईनबाट पढ्ने गरेको दाबी विद्यालय प्रशासनको छ ।

दैनिक १५ जना शिक्षकले अनलाइन कक्षा लिने गरेका छन् । बिहान ६ः३० बजेदेखि ९ः३० सम्ममा दिनमा ३ वटा कक्षा हुन्छ । ‘आइतबार एउटा विषय पढाइएको छ भने त्यो विषय अर्को दिन पढ्न बुधबार पर्खनुपर्छ । हरेक २ दिनको बिचमा पढाइ हुन्छ,’ आचार्यले भने, ‘हरेक विषय हप्तामा २ दिन र विज्ञान तथा गणित विषय हप्तामा ४ दिनसम्म पढाइ हुने गरेको छ ।’

सीभील ईन्जिनियरिङ
पहिला सीभील ईन्जिनियर तथा ओभरसियर पढ्न शहरी क्षेत्रमा जानुपर्ने बाध्यता थियो । धेरै अभिभावकले त्यो शुल्क तिर्न नसक्दा विद्यार्थीले नै पढाउन चाहँदैन थिए । पछिल्ला दिनमा प्राविधिक धारतर्फका सामुदायिक विद्यालयले गाउँ गाउँमा नै ईन्जिनियरिङ पनि पढाउन थाले । त्यहीमध्येको एक हो सरस्वती नमूना मावि पनि । यो विद्यालयले वि.सं. २०७६ देखि कक्षा ९ देखि नै सीभील ईन्जिनियरिङको कक्षा शुरु गरेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट अनुमति लिएर संचालित सीभील ईन्जिनियरिङतर्फ कक्षा ११ सम्ममा करिब १२० जना अध्ययनरत छन् । यसले विशेषगरी दलित, विपन्न आदिवासीलाई फाईदा पुगेको बिद्यालयका प्रधानाध्यापक लुईटेलले बताए । सिभिल ईन्जिनियरिङ् पढेन बार्षिक ९ हजार रुपैयाा तिर्नुपर्ने पनि उनले जानकारी दिए ।

नमूना नर्सिङ
विद्यालयभित्र पस्ने जो कोहीलाई पनि विद्यालय प्रवेश गर्दा विद्यालय विद्यालय नर्सिङ कार्यक्रमबारे धेरैलाई थाहा हुँदैन । विद्यालयमा कोही बिरामी परिहाल्यो भने अब कतैपनि उपचारको लागि जानु नपर्नेगरी व्यवस्था गरिएको छ ।

विशेषगरी किशोरीलाई लक्षित गरी विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम शुरु भएको हो । एउटा कोठाभित्र छुट्टाछुट्टै उपचार गर्ने व्यवस्था गरिएको छ । जहाँ बिरामीलाई सुत्ने शय्याको पनि व्यवस्था छ । आकस्मिक उपचारका लागि यो प्रबन्ध मिलाइएको विद्यालयका प्रधानाध्यापक लुइँटेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्